नियम १७
सुविधा सम्बन्धी व्यवस्था
: (१) बोर्डले ऐनको दफा ५ बमोजिमका सेवा अन्तर्गत प्रदान गरिने सुविधा बोर्डको सिफारिसमा नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।

(२) बीमितले देहाय बमोजिमको रकमको हदसम्म मात्र सेवा प्राप्त गर्न सक्नेछ :-

(क) पाँचजनासम्मको सदस्य रहेको परिवारका लागि प्रति: परिवार प्रति बर्ष एक लाख रुपैयाँसम्म,

(ख) पाँच जनाभन्दा बढी सदस्य रहेको परिवारको हकमा प्रति सदस्य थप बीस हजार रुपैयाँका दरले प्रति वर्ष अधिकतम दुई लाख रुपैयाँसम्म,

(ग) सत्तरी बर्ष उमेर नाघेका जेष्ठ नागरिकले मात्र उपयोग गर्ने गरी एकलाख रुपैयाँसम्म,

(घ) खण्ड (ग) बमोजिमको सुविधामा नदोहोरिने गरी संवत्‌ २०७६ साल साउन १ गते देखि लागू हुने गरी बीमितलाई अनुसूची-६ मा उल्लिखित रोगहरुको उपचारको लागि थप एक लाख रुपैयाँसम्म ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बीमितको सदस्यता सक्रिय रहेको अवधिभित्र शिशु जन्मेमा नवजात शिशुलाई बीमितको सदस्यता बहाल रहने अवधिसम्मको लागि थप योगदान रकम नलिई सेवा प्रदान गर्नु पर्नेछ।

(४) सत्तरी वर्ष उमेर नाघेका जेष्ठ नागरिकले उपनियम (२) को खण्ड (ग) बमोजिमको सुविधा उपयोग गरे पछि सो उपनियमको खण्ड (क) बमोजिमको सुविधा बाँकी रहेछ भने सो समेत उपयोग गर्न पाउनेछ।

(५) उपनियम (१):र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले समय समयमा सुविधाको सीमा पुनरावलोकन गर्न सक्नेछ ।

(६) उपनियम (५) बमोजिमको सुविधाको सीमा पुनरावलोकन गर्नु अघि बोर्डले नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ।